भनिन्छ, जिवन एउटा उत्सव हो । हामीले जन्मदा एउटा संस्कार लिएर जन्मन्छौं, हुर्कदा त्यसमा केही परिवर्तन र परिमार्जन हुन्छ, यस संगसंगै हामी जति चेतनशील वन्दै जान्छौं त्यतिनै हाम्रो संस्कारपनि परिष्कृत हुंदै जान्छ । सामान्य दुःखमा पनि हामी संवेदनशील वन्छौं, आंशु झार्न पछि पर्दैनौं । त्यसैगरि अलिकति खुसी लागेमात्रै पनि हांसिदिन्छौं र उत्सव मनाउंछौं । यो संस्कार हामीमा जन्मजात पैदा भएको हुन्छ । तर त्यो उत्सव मनाउने र प्रयोग गर्ने तरिका तथा त्यस सम्वन्धि वुझाई भने व्यक्ति वा समय अनुसार फरक फरक हुन्छ, निरन्तर परिवर्तन भईरहन्छ । एकको उत्सव अर्कोलाई दुःखद हुन सक्छ र एउटाको दुःख अर्काको उत्सवपनि वन्दछ । हामी कुनै विजयमा उत्सव मनाउंछौं तर त्यो विजयको साथमा कसैको हार लुकेको हुन्छ त्यसमा हार्नेको संवेदनशीलता रोएको हुन्छ, उ चुपचाप रहन्छ, उसलाई साथ दिने कोही रहंदैन तर, त्यति नै वेला जित्नेको संवेदनशीलता हांसेको हुन्छ, उत्सव मनाउंछ साथ दिनेहरु धेरै भेटिन्छन् । फरक यत्ति हो उत्सव मनाउनु र नमनाउनुमा अनि जित्नु र हार्नुमा ।
कतिपय अवस्थामा हामीले मनाएका उत्सवहरुले हामी, हाम्रो जिवनशैली र ऐतिहासीकतासंग कतिसम्म तादात्म्यता राख्छ भन्ने कुरा हामीले ख्याल गरेको पाइंदैन । जसको विजय या पराजयले हामी र हाम्रो जिवनसंग कुनैपनि साईनोसम्म राख्दैन तर हामी त्यसैलाई प्रमुखता दिईरहेका हुन्छौं, र जसलाइ सम्मान र महत्व दिनुपर्ने हो त्यसलाइ भुलिरहेका हुन्छौं । यस्ता परम्पराहरु कतिपय हाम्रा चाडवाड वनेर आउंछन् त कतिपय संस्कार या उत्सव वनेर । दैनिक कामकाज र मानसिक तनाववाट केहीक्षण भएपनि मुक्ती पाउन तथा जिवनको आनन्दमय क्षण भोग्न यस्तै उत्सवहरु हाम्रा साथी वनिरहेका हुन्छन्, त्यसैले त हामीपनि यस्ता उत्सवहरु खोजी खोजी मनाउने गर्छौं । यस्तै उत्सवहरुको लाममा Valentine day पनि पर्दछ ।
आज अर्थात् फेव्रुअरि १४ को दिनलाई विश्वभर “प्रणय दिवस” अथवा Valentine day भनेर धुमधामका साथ मनाउने गरिन्छ । पछिल्ला वर्षहरुमा यस दिवसप्रति नेपाली युवावर्गको लगाव र झुकावपनि तिव्र गतिमा फस्टाउंदै गईरहेको छ । हामी हरेक कुराको अनुसरण गछौं तर त्यसको गहिराई र भावपक्षतर्फ भने सामान्य चिन्तनसम्म पनि गर्दैनौं । हामी वस्तुलाई त्यसको सारमा नभई सतहमा मात्रै वुझ्छौं, गहनतामा नगई हचुवा पाराले वुझ्छौं । त्यसैले त विश्वव्यापीकरणको नाममा तिव्र गतिमा फैलंदै गरेको पश्चिमा हावाले विश्वभर ठुलै हलचल ल्याएको वेला जवानीको चौतारिमा रमाउने निहुंमा युवा जगतमाझ यसले फस्टाउने मलिलो अवसर पाईरहेको छ । फेरि मायाप्रेमका कुरा गर्नेवेला के, किन, कहिले, कसरि, जस्ता प्रश्न गरेर रमाईलो समय खेर फाल्ने समयपनि कोसंग हुन्छ र ? शायद यसैकारण होला यो दिवसलाई भ्यालेनटाइनकै नाममा किन मनाउंदै छौं भन्ने कुरामा कतिपय युवाहरुलाई कुनै पत्तो र चासोसम्म पनि छैन । जसले कालान्तरमा परिणाम राम्रो दिन सक्दैन, केवल विकृतिमात्रै भित्रिन्छ ।
त्यतिवेलाको कठोर पुरातन सामाजीक मान्यताका विरुद्ध आफ्नो प्रेमका लागी सन्त भ्यालेन्टाइनले एउटा अदम्य साहस र क्रान्तिकारिता प्रदर्शन गरे त्यो आफ्नो ठाउंमा प्रशंषनीय नै छ । पुराना जडसूत्रवादी मान्यता र परम्पराहरुलाई तोडेर नयां सामाजीक परिपाटी वसाल्न तथा मानवीय मुल्यमान्यता र अधिकार प्राप्तिका लागी प्राणको आहुति दिन समेत पछि नपर्ने सवै व्यक्तित्वहरु क्रान्तिकारि हुन् । यस अर्थमा भ्यालेन्टाईनलाईपनि एक क्रान्तिकारि योद्धा थिए भन्न सकिन्छ । उनले आफ्नो विचार त्यागेर पुरातन सामाजीक प्रणालीसंग आत्मसमर्पण गर्नुभन्दा हांसी हांसी प्राणाहुती दिने साहस र तत्परता देखाए । त्यसैले त उनि अहिलेसम्म विश्व ईतिहासमा एक अमर हस्ति वनेर एकछत्र राज गरिरहेका छन् । हुनत, यस्ता अनुकरणीय प्रेमकथाहरु हामीकहां पश्चिमाहरुसंग भन्दा धेरै छन् । तर ति सवै ईतिहासका गर्भमै लुप्त भईगए । यसको कारण हामी आफैं हौं, जो आफ्नोपनलाई लत्याएर सदैव अरुहरुकै नक्कल गरिरहेका छौं । नत्र किन हामीमध्ये कसैले कहिल्यै “मुनामदन दिवस” या “लालहिरा दिवस”को परिकल्पना गर्न सकेनौं त ? हाम्रा माझ किन रोमियो जुलियट र भ्यालेन्टाईन नै लोकप्रीय भए त ? यसरि हामी आफ्नोपनलाई भुलेर संधै अर्काको प्रतिलिपी वन्नुभन्दा हाम्रै वरपरका ऐतिहासीकताहरुलाई ख्याल गर्नेवारे सोच्न नसक्दा हाम्रो आफ्नोपन नै विरानो वन्दै गईरहेको छ ।
हामी वुद्धजयन्ति मनाउंदछौं, तर यसलाई “शान्तिदिवस” या प्रेम र सद्भाव दिवसका रुपमा मनाउन सक्दैनौं अझ विस्तारै विस्तारै अव वुद्धलाईपनि भारतीयकरण गरिंदैछ, हामीलाई यसप्रति कुनै चासो छैन तर प्रणयदिवस भनेर भ्यालेन्टाइनको पिछलग्गु वन्न सदैव हतारमै रहन्छौं । नेपालका प्रथम शहीद लखन थापाको स्मृति दिवस संयोगवश यतिवेलै पर्दोरहेछ । तर किन उनको कसैले वास्ता गर्दैन ? यस दिनलाइ “लखन दिवस” भनेर आपसी प्रेम र सद्भाव आदानप्रदान गर्ने दिवसको रुपमा मनाउन हामीलाई के ले रोकेको छ ? वास्तवमा हाम्रो राष्ट्रिय तथा सामाजीक जिवनकालागी भ्यालेन्टाईन र लखन थापामा को वढी महत्वपुर्ण ठहरिन्छन् भन्नेतर्फ हामी किन सोच्न सक्दैनौं ? यहां हामीले हाम्रो सामाजीक-आर्थिक संवन्ध अनुकुलको उपयुक्त विचार र त्यससंगको तालमेल कसरी मिलाउने भन्नेवारे सुक्ष्म रुपमा वुझ्नु जरुरि छ, जुन पक्ष हामीले भुलीरहेका छौं । हाम्रा अमर शहीदहरुको संझनामा यस्ता दिवसहरु वनाउन हामी आफै असक्षम सावित हुंदै गईरहेका छौं, त्यसैले त राष्ट्रले अग्रगति हासिल गर्न सकेको छैन । लखन थापा जस्तै धर्मभक्त, दशरथचन्द, गंगालाल, शुक्रराज जस्ता नेपाली ईतिहासका महान् शहीदहरु विस्तारै भुलिंदै गईरहेका छन् र तिनको स्थान लिंदैछन् भ्यालेन्टाईनहरुले । के यो भन्दा लज्जास्पद कुरो अरु कुनै हुन सक्छ ?
पश्चिमाहरुले वडो तामझामका साथ प्रेम दिवस मनाउंदै गरेका वेला विश्व हल्लाउन सफल महान् नेपाली क्रान्तिकोपनि वर्षगांठ पर्दोरहेछ, शहीद सप्ताह पर्दोरहेछ । तर यस्ता दिवसहरु हामीलाई मन पर्दैनन् यसप्रति हामीलाई कुनै चासो रहंदैन । हामी त्यसैलाई उत्सवको रुपमा मनाउन किन सक्दैनौं ? के यसको महत्व र यसले हासील गरेको उपलव्धिलाइ हामीमध्ये कसैले नजरअन्दाज गर्न मिल्छ ? हरेक कुरामा यो दलको र त्यो दलको अनि यो जातको र त्यो जातको भनेर आ-आफैमा विभाजीत हुनुमा नै हाम्रो उर्जाशील वौद्धिकता खर्च भईरहेको छ । राजनैतिक दलका नेताहरुलाई धारेहात लगाएर गाली गर्न पाए हामी सवै खुसी हुन्छौं तर हामी आफैले आत्मअनुशाषनको पालना गर्दैनौं, यो कस्तो विडम्वना हो ? आफ्नो प्रेमीकासंग विहे गर्न नपाउंदा प्राण त्याग गर्न तयार हुने कुनै अन्जान व्यक्तिको यादमा हामी यत्रो उत्सव मनाउंदै छौं तर, सिंगो राष्ट्र र जनतालाइ मुक्ती दिलाउन आफ्नो प्राणको वाजी लगाएर लड्ने विर सपुतहरुको स्मृतिमा एउटा दिवस मनाउन हिच्किचाउंछौं । के नजिकको तिर्थ हेला भनेझैं भएको हो यो विषय ?
यतिखेर हामी ईतिहासकै अत्यन्त संवेदनशील मोडवाट गुज्रिरहेका छौं । चारैतिरवाट राष्ट्रियता खतरामा परेको अनुभुत भईरहेको छ । तर हामी किन यतिसाह्रो मौन वनेका छौं ? के हामीलाई आफ्नो मातृभुमीप्रति प्रेम र चासो नभएकै हो त ? यदि होईन र हामीमा अलिकतिमात्रै पनि नेपाली हुनुको अपनत्व वांकी छ भने अव राष्ट्र र राष्ट्रियताको संवद्धनमा एकजुट वन्नैपर्छ । खोक्रो राष्ट्रवादका नाराले मात्रै हुंदैन, सच्चा र व्यवहारिक राष्ट्रवाद लागू गर्न सक्नुपर्दछ । शहीदका सपना र जनताका आशा भरोसामा टेकेर गद्दारि गर्नेहरुलाई पाता फर्काउने भनेर मञ्चमा उभिएर भाषण ठोकेर या पत्रपत्रीकामा लेखेर मात्रै हुंदैन, राष्ट्र र जनताका लागी केही गरेरै देखाउनुपर्दछ । भनिन्छ, ष्पष्ट विचार र दृढ संकल्प छ भने त्यसको कहिल्यै हार हुंदैन, सदैव जित सुरक्षीत हुन्छ । तसर्थ हामी खाली भ्यालेन्टाईन-भ्यालेन्टाईन भनेर यौवन र मायाप्रेमका पछिमात्रै लाग्ने हैन, राष्ट्रप्रेमलाईपनि व्यवहारमा लागू गरौं । यस दिवसलाई कोरा मायाप्रितीमा होईन, शहीद र मातृभुमीप्रतिको प्रेममा समर्पित गरौं । नेपालै नरहे नेपाली हामी रहौंला र कहां ???
No comments:
Post a Comment